FAQs Complain Problems

नगरपालिकाको संक्षिप्त परिचय

फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका २२५.५२ वर्ग कि.मि. मा फैलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ ।

पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाउँपालिका, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बंगाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्फको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदेबालीका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ ।

आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटन विकास सँग सँगै हुन सक्ने शहरीकरणलाई व्यवस्थित गरि आधुनिक शैलीको व्यवस्थित नगर विकास योजना निर्माण गरि सिमित आर्थिक र सामाजिक स्रोत र सक्षम स्थानीय निकायका रुपमा शहरी व्यवस्थापनलाई प्रर्वद्धन गर्ने उद्धेश्यका साथ प्रारम्भिक चरणमा प्रवेश गरेको छ । प्राकृतिक सुन्दरता र संस्कृति तथा पर्यटनलाई प्रर्वद्धन गर्ने क्रममा यस नगरपालिका स्थित कन्याम उपयुक्त गन्तव्य हो । जहाँ मनोरम चियाबगान, सूर्योदय/सूर्यास्त,  सुन्दर हरियाली डाँडाकाँडा,  हिमशृङ्खला र तराईका फाँटहरु, रमणिय प्राकृतिक सौन्दर्यले भरिपुर्ण दृष्यावलोकन गर्न पाउनु आफैमा गौरवान्वित महसुश हुन्छ ।

विविध जातजाति, धर्म, वर्ग, पेशा व्यवसाय भएका मानिसहरुको बसोबास रहेको नगरपालिकामा थुप्रै सम्भावनाहरु रहेका छन् । एकातिर पर्यटकीय क्षेत्रका रुपमा कन्याम अवस्थित छ भने अर्कोतिर श्रीअन्तु र पशुपतिनगरले सौन्दर्य थपेको छ । लोपोन्मुख लेप्चा जातिको ऐतिहासिक स्थलको रुपमा पनि यस क्षेत्रले आफ्नो छुट्टै पहिचान बोकेको छ । यो नगरपालिका भित्र एउटा स्नातक तहसम्म अध्ययन हुने क्याम्पस संचालित छ भने सामुदायिक विद्यालय अन्तर्गत प्राथमिक विद्यालय देखि दश जोड दुई सम्मका ९ वटा र सामुदायिक र निजी गरी थुप्रै शैक्षिक संस्थाहरु संचालित छन् । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने यस सूर्योदय नगरपालिका क्षेत्र भित्र ठूला सरकारी अस्पताल स्थापना नभए पनि मेचि अञ्चल आयुर्वेद कार्यालय आइतबारे, प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र पशुपतिनगर, स्वास्थ्यचौकी कन्याम, पञ्चकन्या, लक्ष्मीपुर, गोर्खे, समालबुङ र श्रीअन्तुमा रहेका छन् भने वडा नं. १२ मलिममा २०७३/०१/२५ गते देखि शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ । यस नगरपालिका क्षेत्रको पर्यटकीय स्थलको रुपमा कन्याम, पन्चकन्या मन्दिर, गोर्खे, श्रीअन्तु, चित्रेगुम्बा, पशुपतिनगर लगायतका विभिन्न ठाउँहरु प्रचलित रहेका छन् भने शिक्षा र खेलकुदको गन्तव्यको रुपमा करफोक/पञ्चकन्या तथा औद्योगिक विकासको प्रशस्त संभावना फिक्कलमा र व्यापारिक सम्भावना पशुपतिनगरमा रहेको छ ।